काठमाडौं। नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजी सम्बन्धी रिटको आज सुनुवाइ हुँदैछ।
रूपन्देही–२ का आफ्नो उम्मेदवारी खारेजी भएपछि सर्वोच्च अदालत गएका गुरुङको रिट आज न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा परेको छ। यसअघि शुक्रबार पनि पेशी तोकिएको भए पनि गुरुङ पक्षकै कानुन व्यवसायीहरुले सुनुवाइ स्थगित गरेका थिए।
आफ्नो उम्मेदवारी खारेज भएपछि गुरुङले सर्वोच्चमा रिट दायर गरेका थिए। बैंकिङ कसुर मुद्दामा कालोसूचीमा रहेको उल्लेख गर्दै गुरुङको उम्मेदवारी खारेज गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको थियो। आयोगको उक्त निर्णय विरुद्ध गुरुङले रिट निवेदन दायर गरेका हुन्।
रिट निवेदनमा गुरुङले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरेका छन्।
सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड(ज) र निर्देशिका २०७९ को दफा १६ (ज) लाई आधार बनाएर उम्मेदवारी खारेज गरेका थिए।