काठमाडौं। वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको छ।
आइतबार बिहान १२ बजेदेखि जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा राखिएको हो।
पुलचोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा अपराह्न ४ बजेसम्म श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर राखिने प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए।
त्यसअघि ललितपुर इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा श्रद्धाञ्जलीका लागि राखिएको थियो।
प्रधानमन्त्री शेरबहादुर देउवाले १०३ वर्षीय वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको पार्थिव शरीरलाई नेपालको झन्डा ओढाएर श्रद्धान्जली दिएका छन्।
ललितपुर महानगरपालिका परिसरमा राखिएको पार्थिव शरीरमा प्रधानमन्त्री देउवाले नेपालको झन्डा ओढाएका हुन्। उनीसँगै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पनि ओढाएका थिए।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, उर्जा मन्त्री पम्पा भुसाल, पर्यटन मन्त्री जीवनराम श्रेष्ठ लगायत पुगेका थिए। सर्वसाधारणले सोही स्थानमा श्रद्धाञ्जली दिइरहेका छन्।
शताब्दी पुरुष जोशीले यसअघि नै अध्ययन अनुसन्धानका लागि आफ्नो पार्थिव शरीर किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई दान दिने घोषणा गरेका थिए। त्यसकारण उनको शवलाई जलाइने छैन।
ललितपुर महानगरबाट पुनः अस्पताल ल्याएर जोशीको पार्थिव शरीरलाई राखिने छ।
जोशीलाई ‘राष्ट्रिय सम्मान’का साथ बिदाइ गरिने छ। गृह मन्त्रालयका अनुसार जोशीको पार्थिव शरीरलाई ललितपुर महानगरपालिका परिसरमा राखेर नेपाल प्रहरीको एक टुकडीले दिउँसो ४ बजे शोक सलामी दिनेछ।
शोक सलामी दिएर जोशीको शव किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई हस्तान्तरण गरिने छ।
उपचारका क्रममा केही दिनअघि अस्पतालमा भर्ना भएका शताब्दी पुरुष जोशीको आज बिहान एक सय तीन वर्षको उमेरमा निधन भएको थियो।