काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कोभिड महामारीले प्रभावित शैक्षिक सत्रलाई त्यसअघिकै लयमा फर्काउने गरी कक्षा १०–१२ को परीक्षा समयसिमा निर्धारण गरेको छ । बोर्डले सार्वजनिक गरेको बार्षिक कार्यतालिकाअनुसार आगामी चैतमा कक्षा १० को एसईई र वैशाखमा कक्षा १२ को परीक्षा सञ्चालन हुनेछ ।
परीक्षा नियन्त्रक अर्जुन रायमाझीले यसपालि एसईई चैत दोस्रो सातादेखि संचालन हुने जानकारी दिए । असारको तेस्रो साता एसईईको नतिजा सार्वजनिक गर्ने योजना बनाइएको छ । कक्षा १२ को बार्षिक परीक्षा आगामी बैशाख दोस्रो सातादेखि संचालन हुने बोर्डको बार्षिक कार्यतालिकामा उल्लेख छ । बिषयगत रुपमा परीक्षा तालिका भने सार्वजनिकण् भइसकेको छैन । विद्यालयहरूले कक्षा ११ को बार्षिक परीक्षा बैशाख अन्तिम सातादेखि संचालन गर्ने बोर्डले जनाएको छ ।
बोर्डले कक्षा १० र कक्षा ११–१२ को छुट्टाछुट्टै कार्यतालिका बनाएको हो । कार्यतालिकामा विद्यार्थीले परीक्षा आवेदन फाराम भर्ने देखि परीक्षा संचालन र नतिजा प्रकाशनको समय तोकिएको छ । विद्यार्थी, अभिभावक, विद्यालयलाई तयारी गर्न क्यालेण्डरले सघाउ पूग्ने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । विद्यार्थीले मंसिर मसान्तसम्म एसईई परीक्षाको आवेदन फाराम भरिसक्नुपर्नेछ । एसईई परीक्षाको रुटिन माघ पहिलो साता सार्वजनिक गरिने कार्यालयले जनाएको छ ।
एसईईको पुरक परीक्षा भने २०८० सालको साउन अन्तिम साता संचाल गरिनेछ । यसअघि जेठमा मात्रै एसईई परीक्षा संचालन भएको थियो । कोभिड अघि भने चैतमा नै परीक्षा संचालन हुदैं आएको थियो । लकडाउनका कारण समयमा परीक्षा र नतिजा प्रकाशित नहुँदा विद्यालय तह देखि उच्चशिक्षा सम्मको भर्ना र पठनपाठन प्रभावित भएको थियो ।
बैशाखमा हुने कक्षा १२ को परीक्षाको नतिजा भने साउन मसान्तभित्र प्रकाशन गरिसक्ने बोर्डको कार्यतालिकामा उल्लेख छ । ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा परीक्षा सञ्चालन भएको मितिले ४५ दिनभित्र प्रकाशन गरिने बोर्डले जनाएको छ ।
कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि कात्तिक मसान्तभित्र रजिष्ट्रेशन आवेदन फाराम वितरण गरिसक्ने कार्यतालिका बनाईएको छ । उक्त फाराम माघ १५ सम्म विद्यालयले बोर्डमा पेश गरि सक्नुपर्नेछ । परीक्षा आवेदन फाराम पनि त्यति बेलै बुझाउनु पर्नेछ । कक्षा ११–१२ को परीक्षा तालिका माघ मसान्तभित्र सार्वजनिक गरिने बोर्डले जनाएको छ ।