तनहुँ। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जनताका हरेक समस्यासँग आफू अवगत रहेकाले त्यसको समाधानका लागि कटिबद्ध भएर लाग्ने बताएका छन्।
तनहुँको व्यास नगरपालिका–१० स्थित शेवर, नयाँबस्ती, डिहीगाउँमा मंगलबार आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले जनताका समस्या समाधान गर्न नै आफू राजनीतिमा लागेको दोहो¥याए।
तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका पौडेलले भने, ‘यहाँका हरेक समस्या मलाई थाहा छ। खानेपानी, सडक स्तरोन्नति र रोजगारीका लागि लागिपरेको छु। जनताको विश्वासलाई टुट्न दिन्न।’
उनले शेवरदेखि कलेस्तीसम्म पुग्ने सडक स्तरोन्नति र रसायनिक मल उद्योग खोल्ने विषयमा पहल भइरहेको जानकारी बताए।
लोकतन्त्र र संविधान रक्षाका लागि अहिलेको गठबन्धन बनेको भन्दै उनले यसलाई निरन्तर अगाडि बढाउनुपर्नेमा जोड दिए।
उनले भने, ‘लोकतन्त्र सङ्कटमा परेको बेला बनेको गठबन्धनलाई बलियो बनाएर अगाडि बढाउन सबै एकजुट भएर लाग्नुपर्छ।’