काठमाडौं। रुपन्देहकीको सम्मरीमाई गाउँपालिका–५, रोइनिहवामा रहेको माछापुच्छ्रे बैंकको शाखारहित कार्यालयले ग्राहकको रकम हिनामिना गरेको छ।
बचतकर्ताले शाखारहित कार्यालयमार्फत माछापुच्छ्रे बैंकमा रकम जम्मा गर्ने गरेका थिए। तर, अहिले शाखारहित कार्यालयमार्फत माछापुच्छ्रे बैंकमा जम्मा गरेको भौचर रहेको तर खातामा पैसा नरेहको पाइएको छ। बैंकले नै पैसा गायब पारिदिएपछि न्यायको खोजीमा बचतकर्ता भौँतारिरहेका छन्।
आफन्तले विदेशबाट पठाएको, खेती–किसानी, मजदुरी र व्यापारबाट सञ्चित रकम सम्मरीमाई–५ स्थित माछापुच्छ्रे बैंकको सो शाखारहित कार्यालयमार्फत सेवाग्रहीले जम्मा गरेको भौचर छ। तर, उहाँहरुको बैंक खातामा भने रकम छैन।
सेवाग्राहीले क्षमताअनुसार रु पाँच हजारदेखि १६ लाखसम्म जम्मा गरेको बताएका छन्। यसरी जम्मा गरेको करिब रु तीन करोड एजेन्ट र बैंककै कारण गायब भएको उनीहरूको गुनासो छ । पैसा जम्मा गर्नेहरूले घर बनाउने, जमिन किन्ने, छोराछोरीको बिहेबारीदेखि, भैँसी खरिद गर्ने र छोराछोरी पढाउनेसम्मका योजना बनाएका थिए। बैंक र त्यसका एजेन्टलाई कडा कारबाही हुनुपर्ने उनीहरूको माग छ।
ग्रामीण क्षेत्रमा बैंकिङ सेवा पुर्याउने उद्देश्यसहित माछापुच्छ्रे बैंकले त्यहाँ स्थानीय एजेन्ट रोइनिहवाका निरञ्जन पाठकसँग सम्झौता गरेर शाखारहित बैंकिङ सेवा दिँदै आएको थियो। पाठकले बैंकमा सेवा दिनका लागि बैंकका कर्मचारी स्थानीयवासी सिकन्दर ठाकुरलाई व्यवस्थापक राखेका थिए। सेवाग्राहीले उनै ठाकुरलाई पैसा बुझाउँदै पैसा बुझाएबापतको डिपोजिट भौचर ल्याउने गर्थे।
बैंकका व्यवस्थापक सिकन्दर ठाकुरले आफूबाट गल्ती भएको स्वीकारिसकेका छन्। उनले सेवाग्राहीको बाँकी रकम छिट्टै व्यवस्थापन गर्ने बताउँदै आएका छन्।
उनले भनेका छन्, ‘मैले निजी प्रयोजनमा सेवाग्रहीको रकम खर्च नगरे पनि व्यावहारिक हिसाबले लेनदेन गरेको छु। म भागेको छैन र भाग्ने पनि छैन, मसँग व्यक्तिगत सम्पत्ति छ, आफ्नो घरजग्गा बिक्री गरेर भए पनि सेवाग्राहीको पैसा चुक्ता गर्छु।’
सेवाग्राहीको दाबी सबै सत्य नभएको र रु एक करोड ३२ लाख मात्र अनियमित भएको उनको दाबी छ।
त्यस्तै, बैंकका एजेन्ट निरञ्जन पाठकले गल्ती गर्ने व्यवस्थापकले नै सेवाग्राहीको पैसा तिर्नुपर्ने बताए।
सो सम्बन्धमा माछापुच्छ्रे बैंकको केन्द्रिय कार्यालयका प्रवक्ता सुनिल खतिवडाले घटनाबारे अनुसन्धान जारी रहेको बताए।
बैंकले पीडित ग्राहकलाई नजिकको बैंकको कुनै पनि शाखा वा स्थानीय प्रहरी प्रशासनसमक्ष जाहेरी दिन आग्रह गरेपनि उजुरी नपरेको बताए।
तर, खातामा पैसा नभएपछि निवेदन दिन बैंक जाँदा पनि निवेदनसमेत नलिएको गुनासो बचतकर्ताको छ।
घटनाबारे थप जानकारी दिन प्रवक्ता खतिवडाले आनाकानी गरे। उल्टै एजेन्टसँगको सम्झौता तोड्दै शाखारहित सेवा बन्द गरेपछि सेवाग्राही त्रसित भएका छन्।
उनले भने, ‘बैंकका एजेन्ट र व्यवस्थापकले नै सेवाग्राहीको पैसा तिर्नु सार्वजनिक रुपमा बोलिसक्नुभएको छ। गल्ती गर्नेले नै गल्ती स्वीकार्दै रकम तिर्ने भनेपछि हामीले कारवाहीको प्रक्रिया अगाडि बढाएका छैनौं।’
बैंकका एजेन्ट र व्यवस्थापकले नै सेवाग्राहीको पैसा तिर्नुपर्ने बताए पनि हाल उनीहरु पीडितको सम्पर्कमा नरहेको बताइएको छ। तर, बैंक भने गल्ती गर्नेलाई कारवाही गर्न प्रक्रियामा जानुपर्नेमा मौन बसेको छ। यसले एजेन्ट र व्यवस्थापकलाई उन्मुक्ति दिने तयारीमा बैंक रहेको बुझिएको छ।
यस्तो अवस्थामा बैंकका एजेन्ट र व्यवस्थापकले नै सेवाग्राहीको पैसा फिर्ता नगरेमा जिम्मेवार को ?