काठमाडौं। श्रम, रोजगार, तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले अछाम–१ बाट आफ्नो जीत सुनिश्चित भएको दाबी गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री कुँवरले मंसिर ४ गते हुने निर्वाचनमा अछाम–१ बाट आफ्नो जीत सुनिश्चित भएको दाबी गरेका हुन्।
नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य, सुदूरपश्चिम उपाध्यक्ष तथा श्रमन्त्री कुँवर सत्ता गठबन्धनको तर्फबाट अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार बनेका छन्।
उनले अछाममा आफू विजयी हुने विभिन्न कारणहरु रहेको बताए। उनले भने, ‘अछाम–१ मा कांग्रेसको १८ हजार, माओवादी र नेकपा एकीकृत समाजवादीको १६ हजार गरी सत्ता गठबन्धनसँग ३४ हजार मत छ। एमालेसँग त्यसको आधा पनि मत छैन। त्यसका कारण म सुरक्षित छु। चुनाव जित्नेमा ढुक्क छु।’
कुँवरले कस्ता उम्मेदवारले अछामी जनताको प्रतिनिधित्व गर्न सक्छन भन्ने कुरा जनतालाई थाहा भएकाले अछामी जनताले गठबन्धनलाई मत दिने विश्वास व्यक्त गरे।
उनले भीम रावल राष्ट्रिय नेता तथा अछामी जनताको अभिभावक समेत रहेकाले एमालेले टिकट नदिएर सही वा गलत गर्यो भन्ने कुरा जनताले फैसला गर्ने बताए।
उनले रावलले पनि आफूलाई सहयोग गर्ने विश्वास व्यक्त गरे। उनले भने, ‘भीम रावललाई एमालेले अछाममा कस्ता व्यक्तिलाई उम्मेदवार बनायो भन्ने थाहा छ। त्यसकारण उहाँले हामीलाई सहयोग गर्नुहुन्छ। उहाँको सहयोगसहित हामी जित्छौं।’
अछाम–१ मा भीम रावलको टिकट खोसेर माओवादीबाट आएका झपट बोहरालाई उम्मेदवार बनाएपछि एमाले अछाममा असन्तुष्टि छ। त्यसको फाइदा गठबन्धनलाई हुने अपेक्षा गठबन्धनको छ।
कुँवरले ०६४ सालमा संविधानसभा सदस्य र ०७४ सालमा राष्ट्रियसभा सदस्य हुँदा जिल्लामा विकास बजेट बढाएको, बुढीगंगामा जलविद्युत आयोजना सुरु गरेको, ३३ वर्ष पार्टीमा लागेर जनतामाझ काम गरेको, सेती लोकमार्गका लागि पहल गरेको, १ कक्षा १ शिक्षाको व्यवस्था गरेको, राष्ट्रिय सरोकारका मुद्दा सदनमा उठाएको दाबी गरे।
उनले गाउँमा बाख्रो चराएकोदेखि सिंहदरबारसँगको अनुभव आफूमा रहेकोले अब विजयी भएपछि थप क्रियाशिल भएको अछामको विकासका लागि लाग्ने प्रतिवद्धता जनाए।
उनको क्षेत्रमा कांग्रेसका राजन कुँवर बागी उम्मेदवार बनेका छन्। तर, गठबन्धनका साझा उम्मेदवार कुँवरले जनताले बागी उम्मेदवारलाई विश्वास नगर्ने बताए। उनले भने, ‘जनता सचेत छन्। गठबन्धनको पक्षमा छन्। बागीलाई विश्वास गर्ने छैनन्।’
अछाम–१ म सत्ता गठबन्धनले प्रतिनिधिसभामा कुँवर तथा प्रदेशसभा (क) मा कांग्रेसका मेघराज खड्का र प्रदेशसभा (ख) मा माओवादीका झपट साउँदलाई उम्मेदवार बनाएको छ।