काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मंसिर ४ मा हुने चुनाव सामान्य भोट हाल्ने चुनाव मात्र नभएर प्राप्त उपलब्धिको रक्षा र त्यो उल्ट्याउन चाहने शक्तिबीचको लडाइँ भएको बताएका छन्।
बुधबार प्रेस सेन्टर ललितपुरले आयोजना गरेको कार्यक्रममा प्रचण्डले मंसिर ४ को चुनाव आफूहरूका लागि मात्र नभएर नेपाली जनताकै जीवन–मरणको सवाल भएको बताए।
अध्यक्ष प्रचण्डले भने, ‘मंसिर ४ गते दुइटा विचार, दुइटा प्रवृत्ति, दुइटा धाराको बीचमा ब्याटल हुँदै छ वास्तवमा। यो संविधान र परिवर्तनलाई उल्ट्याउन चाहने र यसलाई रक्षा गर्दै अझ अगाडि बढ्न चाहने दुइटा विचार, दुइटा प्रवृत्ति, दुइटा धारा जे भने पनि दुइटा शक्ति आमनेसामने छन्।’
यस निर्वाचनलाई आफूलाई सामान्य निर्वाचनका रूपमा मात्र लिने छुट नभएको स्पष्ट पारे। अध्यक्ष प्रचण्डले चुनाव जनक्रान्ति र जनयुद्धका उपलब्धि रक्षा गर्ने त्यो उल्ट्याउन खोज्नेबीचको लडाइँ जस्तो भएको उल्लेख गरे।
माओवादीसँग हिजो जस्तो फौज नभएकाले शान्तिपूर्ण प्रतिस्पर्धाबाटै आफ्नो श्रेष्ठता साबित गर्नुपर्ने चुनौती रहेको उनको भनाइ छ।
पूर्व प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीसँग हिजोको जस्तो फौज त छैन। हामी शान्तिपूर्ण प्रतिस्पर्धामार्फत आफ्नो श्रेष्ठता साबित गर्ने चरणमा छौं। समाजवादको उद्देश्य प्राप्तिका निम्ति नयाँ तरिकाको बाटो कोर्दै छौं।’