काठमाडौं। रुपन्देही–२ सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राजु गुरुङको रिट सर्वोच्च अदालतले ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ।
न्यायाधीशद्वय कुमार रेग्मी र सुष्मालता माथेमाको संयुक्त इजलासले बुधबार उम्मेदवार गुरुङको रिट हेर्न नभ्याइने सूचीमा रहेको हो।
बैङ्किङ कसुरमा कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरेपछि उनले असोज २७ गते सर्वोच्चमा रिट दायर गरेका थिए।
यसअघि असोज ३० गते रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।