काठमाडौँ । कोरोना बिमाका बिमितले पहिलो चरणमा पौने २ अर्ब रुपैयाँ भुक्तानी पाउने भएका छन् ।
सरकारले एक अर्ब रुपैयाँ निकासा गरिदिएपछि बिमा समिति, पुनर्बिमा कम्पनी र बिमा कम्पनीहरूले संकलन गरेको थप ८१ अर्ब रुपैयाँसहित कुल १ अर्ब ८१ करोड रुपैयाँ बिमितलाई भुक्तानी दिन लागिएको हो ।
बिमा कम्पनीहरूले कोरोना बिमाको भुक्तानी रोकेको करिब डेढ वर्षपछि त्यसमा पनि भुक्तानी दिन बाँकी रकमको १७ प्रतिशत मात्रै चुक्ता गर्न लागेका छन् । बिमा कम्पनीहरूले २०७८ चैतदेखि कोरोना बिमाको दाबी भुक्तानी रोकेका थिए ।
कम्पनीहरूले करिब सवा लाख जना बिमितलाई करिब साढे १० अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी छ । त्यसमध्ये पहिलो चरणमा पौने २ अर्ब रुपैयाँ वितरण गरिने र सरकारले थप रकम दिएसँगै चरणबद्ध रूपमा बाँकी रकम पनि भुक्तानी गर्दै जाने बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।
बाँकी रकम भुक्तानीका लागि बिमा समितिले दुई वटा विकल्प अर्थ मन्त्रालय पठाएको थियो । त्यसमध्ये दोस्रो विकल्पमा बाँकी भुक्तानी रकमको ५५ प्रतिशत सरकारले र बाँकी ४५ प्रतिशत बिमा समिति, पुनर्बिमा र बिमा कम्पनीले व्यहोर्ने भन्ने छ ।
त्यही विकल्पअनुसार सरकारले दिएको रकम (एक अर्ब रुपैयाँ) लाई ५५ प्रतिशत मानेर बाँकी ४५ प्रतिशत रकम समिति, पुनर्बिमा र बिमा कम्पनीहरूले संकलन गरी पहिलो चरणमा करिब पौने २ अर्ब रुपैयाँ भुक्तानी गर्न लागिएको हो । जसअनुसार १२ प्रतिशत रकम नेपाल पुनर्बिमा कम्पनी, २५ प्रतिशत बिमा कम्पनीहरू र ८ प्रतिशत बिमा समितिले योगदान गरेका छन् ।