काठमाडौं। पहिलो हुने निर्वाचित हुने निर्वाचन (प्रत्यक्ष) प्रणालीतर्फ २० जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ।
प्रतिनिधिसभातर्फ अछाम, डोटी, कैलाली र कञ्चनपुर तथा प्रदेश सभातर्फ डोटी, डडेलधुरा र कैलाली जिल्लाको मतपत्र छपाइ तथा प्याकिङ सम्पन्न भएसँगै पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको करिब ३० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ।
हालसम्म १ करोड २८ लाख ४९ हजार ५०० मतपत्र छपाइ भइसकेको छ। जसमा प्रदेशसभातर्फको ६४ लाख ३२ हजार ५०० र प्रतिनिधिसभातर्फ ६४ लाख १७ हजार रहेको छ।
हाल कायम रहेको १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि करिब ४ करोड र समानुपातिक निर्वाचन प्रणालीका लागि करिब ४ करोड मतपत्र आवश्यक पर्नेछ।
यसअघि सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरा जिल्लाको पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भएको छ।
त्यसैगरी, प्रदेशसभाका लागि पनि सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछाम जिल्लाको मतपत्र छपाइ सम्पन्न भइसकेको छ।
सुदूरपश्चिम प्रदेशमा ढुवानी शुरु
सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी शुरु भएको छ।
कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा, बझाङ, बैतडी, दार्चुला लगायतका जिल्लाहरूमा मतपत्र ढुवानी भएको छ।
बागमती, मधेश र प्रदेश नं.१ का जिल्लाहरूमा भने यसअघि नै मतपत्र ढुवानी भइसकेको छ।