काठमाडौं। निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ।
रौतहटमा चुनाव प्रचारका क्रममा ‘बिना ढेउवा के भिसा मिल्तै हैं, टिकट मिल्ते हे, काठमाडौंमै तालिम मिल्ते हेँ’ भनी सार्वजनिकरुपमा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत भएकाले स्पष्टीकरण सोधेको हो।
यस्तै, आयोगले नेपालको अभिव्यक्तिमाथि कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिएको छ।
आयोगले अध्यक्ष नेपालले दिएको उक्त अभिव्यक्तिको भिडियो पनि प्रहरी कार्याललाई उपलब्ध गराएको छ।
‘श्री माधवकुमार नेपालबाट निर्वाचन सम्मुखमा युवाहरूलाई विदेश पठाउने भनी सार्वजनिक रूपमा प्रलोभन देखाउने कार्य गरेकोले सम्बन्धमा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३९ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन अनुरोध छ । साथै, यस विषयसँग सम्बन्धित श्रव्यदृश्य सामग्रीको विद्युत् प्रति (सीडी) समेत यसैसाथ संलग्न गरी पठाइएको छ’, आयोगले प्रहरीलाई पठाएको पत्रमा उल्लेख छ।