काठमाडौं। सत्ता गठबन्धनको तर्फबाट रुपन्देही २ मा उमेदवारी दिएका नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङले आफ्नो उम्मेदवारी खारेजीको विरुद्धमा दिएको रिटको आज पेसी तोकिएको छ।
यसअघि, बुधबार पेसी चढेर पनि हेर्न नभ्याइनेमा परेको उक्त मुद्दा आज न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा पेसी तोकिएको छ। गुरुङको रिट सुनुवाइको पहिलो नम्बरमा परेको छ।
उम्मेदवार खारेजी विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले असोज ३१ गरे अन्तरकालीन आदेश दिँदै दुबै पक्षलाई छलफलमा बोलाएको थियो। रुपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयले एकीकृत समाजवादी पार्टीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गरेको थियो।
गत आइतबार न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले रुपन्देही २ का निर्वाचन अधिकृतको कार्यालयले गरेको गुरुङको उमेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यन्वयन नगन अल्पकालीन आदेश जारी गरेको थियो।
सर्वोच्चले अन्तराकालीन आदेश दिएसँगै निर्वाचन कार्यालयले उनको उम्मेदारी कायम रहेको सूचना निकालेको छ।
उनीसँगै उम्मेदारी खारेजीमा परेका हाम्रो नेपाल पार्टीका डा. कमल भुसाल निकोलसको निवेदनमाथि बिहीबार अन्तरिम आदेश दिन अस्वीकार गर्दै कार्तिक १५ गतेका लागि छलफलका लागि बोलाएको छ।