काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार शनिबारदेखि सुरु हुँदैछ।
कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यस वर्ष यमदीपदान शनिबारदेखि सुरु हुने भए पनि काग तिहार भने आइतबार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ।
आइतबार बेलुकी ०५:०४ बजेसम्म त्रयोदशी तिथि छ। त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ। बेलुकी ०५:०४ बजेपछि चतुर्दशी तिथि लाग्छ।यसैगरी, धनत्रयोदशी (धनतेरस) पर्व पनि शनिबार नै परेको छ। धनवन्तरी जयन्ती भने आइतबार परेको छ। तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा सोमबार एकै दिन परेको समितिले जनाएको छ।
‘धनतेरस’ पर्व खासगरी मिथिला क्षेत्रमा मनाइन्छ। मिथिलाको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ।
पर्वको पहिलो दिन धातुका नयाँ सामान जोडेर धनतेरस मनाउन लागिएको हो। कात्तिक कृष्ण त्रयोदशीको रात पर्ने दिनलाई मिथिलामा ‘धनतेरस’ भनिन्छ। यस दिन नयाँ धातुका सामान किनेर पूजाआराधना गर्दै दीपावली पर्व प्रारम्भ गर्ने मैथिल परम्परा छ।
घरघरमा उज्याला बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिन्छ। दीपावली मुख्यतः धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिने पर्व भएको हुँदा पहिलो दिन नै नयाँ वस्तु जोडेर लक्ष्मी खुशी पार्न यो पर्वको परम्परा चलेको मिथिला संस्कृतिका ज्ञाता बताउँछन्।
मिथिला क्षेत्रमा ‘दिवाली’को पहिलो दिन नै बजारबाट किनेर ल्याइएको धातुका गहना वा भाँडालाई लक्ष्मीको प्रतिमा स्थापित गरिएका ठाउँमा पूजा गरेर यो पर्व विधिवत सुरु गरिने परम्परा छ।