काठमाडौँ । राखेप सदस्यसचिव टंकलाल घिसिङले नवौँ राष्ट्रिय खेलकुद २०७९ मा पहिलो पटक राष्ट्रिय खेलकुदको ट्रफी निर्माण, राष्ट्रिय खेलकुदको मान्यताअनुसार ‘एन्टी डोपिङ’ परीक्षण लगायतका नवीनतम कार्य सुरु भएको बताएका छन ।
राष्ट्रिय खेलकुद परिषद्ले शुक्रबार सञ्चारकर्मीसँग आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले खेलाडीहरूको विवरण डिजिटल माध्यमबाट दर्ता गरी अभिलेखीकरण गरिएको समेत बताए ।
प्रतियोगितामा ३६ खेलको तीन सय ९६ इभेन्टस सम्पन्न भएको, खेलाडी ६ हजार एक सय २७, निर्णायक एक हजार ६ सय ४७, प्रशिक्षक सात सय एक, व्यवस्थापक पाँच सय ११ र सञ्चालक समिति एक सय नौजना गरी १० हजारभन्दा बढीको सहभागिता भएको जानकारी दिए । प्रतियोगिता सफल भएकामा सदस्य सचिव घिसिङले सबैप्रति आभार व्यक्त गरे ।
नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नवौँ राष्ट्रिय खेलकुद–२०७९ को प्रचारप्रसारमा सञ्चारकर्मीले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । मन्त्री गहतराजले राष्ट्रिय खेलकुदलाई साँच्चिकै राष्ट्रिय खेल बनाउन र अन्तर्राष्ट्रियस्तरसम्म प्रचारमा सञ्चारकर्मीले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
गण्डकीमा २८ असोजदेखि ३ कात्तिकसम्म भएको नवौँ राष्ट्रिय खेलकुदमा ३६ खेलमा ३९६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो जसमा आर्मी च्याम्पियन बनेको हो ।