काठमाडौं। अस्ट्रेलियामा आठौं संस्करणको आईसीसी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानले भारतलाई १ सय ६० रनको लक्ष्य दिएको छ।
मेलबर्न क्रिकेट ग्राउन्डसमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १ सय ५९ रन बनायो। उसका लागि मध्यक्रमका ब्याटरद्वय इफ्तिखार अहमद र शन मसूदले अर्धशतकीय पारी खेले।
३४ बलको सामना गरेका इफ्तिखारले चार छक्का र दुई चौकासहित ५१ रन बनाए। टी–२० अन्तर्राष्ट्रियमा अहमदको यो दोस्रो अर्धशतक हो। त्यस्तै, मसूदले ४२ बलमा पाँच चौकाको मद्दतमा अविजित ५२ रन बनाए। उनको यो तेस्रो टी–२० अर्धशतक हो।
शाहीन साह अफ्रिदीले आठ बलमा एक छक्का र एक चौकासहित १६ रनको उत्कृष्ट पारी खेले। बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन्। भारतका लागि तीव्र गतिका बलरद्वय अर्शदीप सिंह र हार्दिक पाण्ड्याले उत्कृष्ट बलिङ गरे। ४ ओभरमा अर्शदीपले ३२ रन दिएर तीन विकेट हात पारे।
उनले कप्तान बाबर आजम (शून्य), मोहम्मद रिजवान (४) र आसिफ अलि (२) लाई पवेलिएन फर्काए। हार्दिकले ४ ओभरमा ३० रन दिएर महत्वपूर्ण तीन विकेट नै लिए। उनले शादब खान (५), हैदर अली (२) र मोहम्मद नवाज (९) लाई आउट गरे।
त्यस्तै, मोहम्मद शामीले ४ ओभरमा २५ रन खर्चेर एक विकेट हात पारे। भुवनेश्वर कुमारले चार ओभरमा २२ रन दिएर एक विकेट नै लिए।