काठमाडौं। अस्ट्रेलियामा आठौं संस्करणको आईसीसी टी–२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध भारत ५ विकेटले विजयी भएको छ।
आइतबार भएको दोस्रो खेलमा पाकिस्तानले दिएको १ सय ६० रनको लक्ष्य भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर भेट्टायो। अन्तिम ओभरमा भारतलाई जितका लागि ६ बलमा १६ रन आवश्यक थियो।
यो ओभरको पहिलो बलमै हार्दिक पाण्ड्या आउट भए। दोस्रो बलमा दिनेश कार्तिकले एक रन लिए। तेस्रो बलमा कोहलीले दुई रन जोडे। चौथो बलमा भारतले ७ रन जोड्यो। यो बलमा अम्पायरले फ्रि–हिट दिए। फ्रि–हिटमा कोहलीले एक रन लिए। चौथो बलमा कोहलीले तीन रन जोडे। पाँचौं बलमा कार्तिक आउट भए। त्यसपछि मोहम्मद नवाजले वाइड बल फाले। अन्तिम बलमा रविचन्द्रन आश्विनले चौका हिर्काउँदै भारतलाई जित दिलाए।
भारतको जितमा विराट कोहली ‘नायक’ सावित भए। ५३ बलको सामना गरेका उनले चार छक्का र ६ चौकासहित अविजित ८२ रनको योगदान दिए। टिमको स्कोर ३१ रनमा ४ विकेट गुमाएको कठिन अवस्थाबाट कोहलीले पारी सम्हाले। उनी र हार्दिक पाण्ड्याबीच पाँचौं विकेटका लागि ७८ बलमा ११३ रनको साझेदारी बन्यो।
कोहलीले ४३ बलमा तीन चौका र दुई छक्काको मद्दतमा अर्धशतक पूरा गरेका थिए। टी–२० अन्तर्राष्ट्रियमा उनको यो ३४ औं अर्धशतकीय पारी हो। त्यस्तै, हार्दिक पाण्ड्याले ३७ बलमा दुई चौका र एक छक्कासहित ४० रनको पारी खेले। सूर्यकुमार यादवले १० बलमा १५ रन जोडे।
बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। पाकिस्तानका लागि हरिस रौफले दुई, मोहम्मद नवाज र नसीम शाहले एक÷एक विकेट लिए। त्यसअघि मेलबर्न क्रिकेट ग्राउन्डसमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५९ रन बनायो।
उसका लागि मध्यक्रमका ब्याटरद्वय इफ्तिखार अहमद र शन मसूदले अर्धशतकीय पारी खेले। ३४ बलको सामना गरेका इफ्तिखारले चार छक्का र दुई चौकासहित ५१ रन बनाए। टी–२० अन्तर्राष्ट्रियमा अहमदको यो दोस्रो अर्धशतक हो।
त्यस्तै, मसूदले ४२ बलमा पाँच चौकाको मद्दतमा अविजित ५२ रन बनाए। उनको यो तेस्रो टी–२० अर्धशतक हो। शाहीन साह अफ्रिदीले आठ बलमा एक छक्का र एक चौकासहित १६ रनको उत्कृष्ट पारी खेले।
बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन्। भारतका लागि तीव्र गतिका बलरद्वय अर्शदीप सिंह र हार्दिक पाण्ड्याले उत्कृष्ट बलिङ गरे। ४ ओभरमा अर्शदीपले ३२ रन दिएर तीन विकेट हात पारे। उनले कप्तान बाबर आजम (शून्य), मोहम्मद रिजवान (४) र आसिफ अलि (२) लाई पवेलिएन फर्काए।
हार्दिकले ४ ओभरमा ३० रन दिएर महत्वपूर्ण तीन विकेट नै लिए। उनले शादब खान (५), हैदर अली (२) र मोहम्मद नवाज (९) लाई आउट गरे। त्यस्तै, मोहम्मद शामीले ४ ओभरमा २५ रन खर्चेर एक विकेट हात पारे। भुवनेश्वर कुमारले चार ओभरमा २२ रन दिएर एक विकेट नै लिए।