काठमाडौं । अस्ट्रेलियामा जारी आईसीसी ट्वान्टी-२० विश्वकपमा आज जिम्बाब्वेले दक्षिण अफ्रिका र नेदरल्यान्ड्सले बङ्गलादेशसामू चुनौती प्रस्तुत गर्दैछन् ।
सुपर-१२ समूह-२ को बेल्लेरिभ ओभलमा हुने पहिलो खेलमा नेदरल्यान्ड्स र बङ्गलादेश भिड्दैछन् । खेल नेपाली समयअनुसार बिहान ०९:४५ बजेदेखि सुरु हुनेछ ।
यी दुई टिमबीच ट्वान्टी-२० विश्वकपमा एक पटकमात्र प्रतिस्पर्धा भएको छ । सन् २०१६ को विश्वकपमा बङ्गलादेशले आठ रनको जित निकालेको थियो ।
दोस्रो खेलमा जिम्बाब्वे र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदै छ । खेल दिउँसो ०१:४५ बजेदेखि सुरु हुनेछ ।
ट्वान्टी-२० विश्वकपमा जिम्बाब्वे र दक्षिण अफ्रिकाबीच एक पटकमात्र प्रतिस्पर्धा भएको छ । सन् २०१२ को विश्वकपमा दक्षिण अफ्रिका १० विकेटले विजयी भएको थियो । समूहका शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।