काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सङ्कल्पपत्र (घोषणापत्र) सार्वजनिक गरेको छ।
सानेपास्थित बीपी स्मृति भवन केन्द्रीय कार्यालयमा शनिबार प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनको सङ्कल्पपत्र सार्वजनिक गरेका हुन्।
प्रधानमन्त्री देउवाले सार्वजनिक गरेको ५२ पृष्ठ लामो घोषणापत्रको मुख्य नारा ‘संविधानको रक्षा, स्थिरता, समुन्नतिको आधार ः नेपाली कांग्रेसकै नेतृत्वमा अबको सरकार’ भन्ने रहेको छ।
कांग्रेसले चुनावी घोषणापत्रमै असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन नगर्ने प्रतिज्ञा गरेको छ।
घोषणापत्रमा भनिएको छ, ‘नेपाली कांग्रेस विगतमा जस्तै भविष्यमा पनि नेपाली जनताले सुम्पिएको हरेक अभिभारालाई निष्ठा र इमान्दारीपूर्वक वहन गरी लोकतन्त्र, संविधान, विधिको शासन र मानव अधिकारको संरक्षण र सम्वद्र्धनका निम्ति कटिबद्ध छ। संविधानको मर्म बमोजिम सरकारलाई संसदप्रति जवाफदेही बनाउँदै संसदभित्रबाटै विकल्प भएसम्म दलहरू भित्र हुनसक्ने द्वन्द्व वा संसदमा उत्पन्न हुनसक्ने गतिरोध वा अरु कुनै वहानामा संसद अवरुद्ध हुन नदिई संसदलाई पूर्ण अवधि कायम राख्ने प्रतिज्ञा गर्दछ।’
कांग्रेसले आफ्नो नेतृत्वमा हासिल भएका राजनीतिक, आर्थिक र सामाजिक उपलव्धिको स्वामित्व लिन जति प्रष्ट छ, सरकार सञ्चालनको क्रममा वा प्रतिपक्षको भूमिकामा रहँदा जानेर वा नजानेर भएका गल्ती र कमी–कमजोरीबाट शिक्षा लिँदै भविष्यमा दोहोरिन नदिने प्रतिबद्धता जनाएको छ।
कांग्रेसले ‘संविधानको रक्षा र कार्यान्वयन तथा त्यसकै जगमा मुलुकको समुन्नति तर्फको अग्रगमन नै आजको मुख्य राष्ट्रिय जिम्मेवारी भएको मनन गर्दै आफ्नो सात दशकभन्दा लामो गौरवपूर्ण इतिहास, यसको आदर्श एवं विचारको श्रेष्ठता, हजारौ जुझारु, कर्मठ, स्वाभिमानी र इमान्दार स्वयंसेवी कार्यकर्ताको ऊर्जा र जनताको अनवरत स्नेह र समर्थनको आत्मविश्वासका साथ पुनः एकपटक नेपाली राजनीतिमा देखिएका ज्वलन्त मुद्दाहरुको सम्बोधन गर्ने’ अठोट गरेको छ।
साथै, संघीय लोकतन्त्रको सीमाभित्र वहुलता र विविधता बीचको एकता आम नेपालीको सच्चा राष्ट्रियता’ भन्ने मान्यताका साथ संविधान कार्यान्वयन गर्दै समुन्नत नेपाल निमार्णको आफ्नो ध्येयलाई पूरा गर्ने प्रण गरेको छ।
घोषणापत्र निर्माण गर्न महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति बनेको थियो।