काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सङ्कल्पपत्र (घोषणापत्र) सार्वजनिक गरेको छ।
सानेपास्थित बीपी स्मृति भवन केन्द्रीय कार्यालयमा शनिबार प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनको सङ्कल्पपत्र सार्वजनिक गरेका हुन्।
प्रधानमन्त्री देउवाले सार्वजनिक गरेको ५२ पृष्ठ लामो घोषणापत्रको मुख्य नारा ‘संविधानको रक्षा, स्थिरता, समुन्नतिको आधारः नेपाली कांग्रेसकै नेतृत्वमा अबको सरकार’ भन्ने रहेको छ।
कांग्रेसले प्रत्येक वर्ष २ लाख ५० हजारलाई रोजगारी दिने र ५ वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने जनाएको छ। साथै, प्रत्येक वर्ष २ लाख ५० हजारलाई रोजगारी, न्यूनतम ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ।
कांग्रेसले चुनावी घोषणापत्रमै असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन नगर्ने प्रतिज्ञा गरेको छ।
कांग्रेसले चुनावी घोषणापत्रमै कोखदेखि शोकसम्मका कार्यक्रम समेटेको छ। जसमा प्रजनन् स्वास्थ्य र अधिकारदेखि विपन्न आर्थिक अवस्था भएका नागरिकको मृत्यु हुँदा मृत्यु संस्कार खर्च १० हजार स्थानीय सरकार मार्फत् उपलब्ध गराउने उल्लेख छ।
त्यस्तै, ५ वर्षमा के गर्ने र नगर्ने भन्ने कुरा उल्लेख गरिएको छ।
घोषणापत्र निर्माण गर्न महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति बनेको थियो। संयोजक विश्वप्रकाश शर्माले बिपीकालीन दस्तावेजदेखि स्थानीय तहसम्म पार्टीका तर्फबाट घोषणा गरिएको विषयवस्तुका आधारमा घोषणापत्र तयार गरिएको बताए। साथै समसामयिक राजनीति, निरन्तरतामा नवीनता, सम्मुन्नत नेपालको मार्गचित्रलगायतका विषयवस्तु घोषणापत्रमा समेटिएको उनले बताए।
हेर्नुस्, कांग्रेस घोषणापत्रको पूर्णपाठ ।