कालीकोट। तिलागुफा नगरपालिका–१० रानावाडामा विष्फोटनमा परी दुई बालिकाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन्।
शनिबार बिहान त्यहाँ विष्फोटक पदार्थ पड्किँदा घाइते भएकी तिलागुफा नगरपालिका–१० की ४ वर्षीया झरना थापा र ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा मृत्यु भएको छ।
प्रमुख जिल्ला अधिकारी रामहरि शर्माका अनुसार घटनामा सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षका मुस्कान थापा र ३ वर्षकी सपना थापा गम्भीर घाइते भएका छन्।
बच्चा खेल्न जाने क्रममा उनीहरुले नयाँ कुरा देखेर ढुङ्गा हान्दा बम विष्फोट भएको प्रजिअ शर्माले बताए। उनका अनुसार कुन बम भन्ने खुलेको छैन र प्रहरी तथा सेनाले अनुसन्धान थालेको छ।
स्थानीय प्रेमबहादुर शाहीका अनुसार गाई चराउन गएका बालबालिकाले ओढारमा भेट्टाएको वस्तु खेलाउँदा सो विष्फोट भएको हो।
त्यस्तै, गृहमन्त्री बालकृष्ण खाणले कालीकोटको तिलागुफा नगरपालिका–१० रानावाडामा विष्फोटनमा परी गम्भीर घाइते भएकाको उद्धार तथा उपचारमा कुनै कमी हुन नदिन गृह प्रशासनलाई निर्देशन दिएका छन्।
गृहमन्त्री खाणको निर्देशनपछि नेपाली सेनाको हेलिकोप्टर कालीकोट पुगेर घाइतेको उद्धार गरी सुर्खेत पठाइएको छ।