काठमाडौं। देशभर चिसो बढे पनि डेङ्गु सक्रमण अझै घटेको छैन। डेङ्गुबाट संक्रमित हुनेहरुको संख्या पछिल्ला दिनहरुमा पनि बढिरहेको स्वास्थ्य मन्त्रालयको तथ्याङकले पुष्टि गरेको छ।
देशभर थप २ हजार ७२८ जनामा डेङ्गु रोगको सङ्क्रमण पुष्टि भएको छ। कार्तिक ५ गते देशभर ४३ हजार ६८५ जनामा डेङ्गु रोग पुष्टि भएकोमा कार्तिक ११ सो सङ्ख्या बढेर ४६ हजार ४१३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो।
गत श्रावण महिनादेखि फैलिएको डेङ्गु रोगको प्रकोप देशका ७७ जिल्लामा फैलिसकेको छ।
हालसम्म डेङ्गु रोगका कारण ५२ जनाको मृत्यु भइसकेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। मन्त्रालयले जारी गरेको तथ्याङक भन्दा संक्रमितहरुको संख्या बढिरहेको र अहिले घर घरमा संक्रमित रहेको जनस्वास्थ्यविदहरुको भनाइ छ।
यति ठूलो संख्यामा नागरिकहरु प्रभावित हुदा समेत डेङ्गु नियन्त्रमा सम्वन्धित निकाय उदासिन बनिरहेको र नियन्त्रणको प्रयास पनि प्रभावकारी बन्न नसकेको विज्ञहरुको भनाइ छ।