झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ नै १०० सिट जित्ने दाबी गरेका छन् ।
उनले समानुपातिकतर्फ ५० सिट ल्याएर एकल बहुमत पुर्याउने दाबी गरे ।शुक्रवार गृहजिल्ला झापा आएका अध्यक्ष ओलीले शनिवार दमकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भने, ‘प्रत्यक्षमा कमसेकम १०५ सिट र समानुपातिकतर्फ ५० सिट एमालेले जित्छ ।’
पूर्व प्रधानमन्त्री समेत रहेका ओली शनिवार दिनभर झापा क्षेत्र नम्बर ५ मा आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागी हुँदै अगुवा कार्यकर्तालाई चुनावी गतिविधि बढाउन निर्देशन समेत दिए ।
अघिल्लो निर्वाचनको स्मरण गर्दै अध्यक्ष ओलीले भने, ‘अघिल्लो निर्वाचनमा हामीले प्रत्यक्षमा ८० सिट र समानुपातिकमा ४१ सिट जितेका थियौं तर दुईतिहाइ बहुमत ल्याउन १३८ सिट चाहिन्थ्यो । अहिले हामी एक्लै १५० सिट जित्ने योजनाका साथ अघि बढेका छौं र जित्छौं पनि ।’
झापामा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको छ । झापा क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन् भने झापा–५ मा ओली उम्मेदवारका रूपमा उभिएका छन् । उनले आम मतदातालाई झापा–३ मा हलोमा मतदान गर्न र झापा–५ मा सूर्य चिह्नमा मतदान गर्न आग्रह समेत गरेका छन् ।