काठमाडौं । दुई विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा भिड्ने भएका छन्।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा एपीएफ र आर्मीले प्रतिस्पर्धा गर्न लागेका हुन्। आइतबार नै मूलपानी क्रिकेट मैदानमा हुने अर्को खेलमा नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजना र राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा हुने प्रतियोगिता कात्तिक २६ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ। समूह ‘ए’मा एपीएफ, आर्मी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेश छन्।
समूह ‘बी’मा नेपाल पुलिस क्लब, बागमती, लुम्बिनी, मधेश र प्रदेश १ छन्। समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने छन्। यस्तै उपविजेताले पाँच लाख र सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार रुपैयाँ पाउने छन्। यसैगरी उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार तथा इमर्जिङ प्लेयरले १० हजार पुरस्कार पाउने छन्। हरेक खेलको प्लेयर अफ दी म्याचले पाँच हजार पाउने छन्।