काठमाडौँ । उम्मेदवारी खारेजीमा परेकी डा. तोसिमा कार्कीले निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने बताएकी छिन्।
आयोगले ललितपुर क्षेत्र नम्बर–३ का उम्मेदवार डा. कार्कीको उम्मेदवारीलाई अयोग्य ठहर गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेकी कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको पुष्टि भएकाले निजको उम्मेदवारी अयोग्य कायम गरिएको आयोगले जनाएको छ।
उनले ललितपुर ३ मा आफ्नो पक्षमा एकदमै राम्रो माहौल सिर्जना भइरहेको वेला निर्वाचन परिणाम नै फरक पार्ने गरी आयोगले गरेको निर्णयविरुद्ध अदालत जाने बताएकी हुन्।
डा. कार्कीले आयोगलाई पत्र लेख्दै भनेकी छिन्, ‘ललितपुर ३ मा मेरो पक्षमा एकदमै राम्रो माहौल सिर्जना भइरहेको अवस्थामा निर्वाचन परिणाम फरक पार्ने गरी आएको यो किसिमको निर्णयका विरुद्ध म सम्मानित अदालत जानेछु।’
डा.कार्कीले निश्चित तलब नहुने र बैठक हुँदा भत्ता मात्रै पाउने निर्वाचित सदस्य लाभको पद नहुने पनि स्पष्ट पारेकी छिन्। आफूलाई आधिकारिक पत्र नआएको र उम्मेदवारी खारेजीबारे मिडियामार्फत जानकारी पाएको पत्रमा उल्लेख गरेकी छिन्। यसबारे थप स्पष्ट हुन डा. कार्कीले न्यायक्षेत्रमा क्रियाशील रहेका अधिवक्तासँग परामर्शमा रहेको बताइन्।
‘