काठमाडौँ । महाकाली नदीपारि तावाघाट–लिपुलेक सडक चौडा पार्ने क्रममा बम विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको घटनालाई लिएर नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ ।
काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत परराष्ट्र मन्त्रालयले आइतबार भारतलाई कूटनीतिक नोट पठाएको हो ।
गृह मन्त्रालयबाट कूटनीतिक नोट पठाउनका लागि परराष्ट्रलाई शनिबार नै पत्र पठाए पनि घटनाको विस्तृत रिपोर्ट नआएका कारण आइतबार कूटनीतिक नोट पठाइएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
नोटमा पीडितलाई उचित राहत र क्षतिपूर्ति दिलाउनका लागि आग्रह गरिएको छ । यसका साथै अन्तर्राष्ट्रिय सिमानामा यस्ता गतिविधि गर्दा नेपाली पक्ष र सम्बन्धित स्थानीय प्रशासन र बासिन्दालाई समेत अगाडि नै जानकारी दिन आग्रह गरिएको छ ।
भारतीय सडक निर्माण कम्पनी गर्ग एन्ड गर्गले घटनामा गल्ती स्वीकार गर्दै मृतकको परिवारलाई १० लाख रुपैयाँ भारु राहत पनि उपलब्ध गराएको छ ।