कास्की । चार मंसिरमा हुने प्रतिनिधि सभा सदस्यको लागि कास्कीको निर्वाचन क्षेत्र नम्बर-३ मा नेकपा एमालेका दामोदर वैरागी र सत्ता गठबन्धन माओबादीका रामजीप्रसाद बराल जीवनबिच मुख्य प्रतिस्पर्धी हुने देखिएको छ । ०७४ सालको निर्वाचनमा नेकपा एमालेका जगतबहादुर विश्वकर्माले नेपाली काँग्रेसका शुक्रराज शर्मालाई पराजित गरेका थिए ।
त्यसबेला ३२ हजार ६९० मतले विश्वकर्माले जित्दा शर्माले २४ हजार ३०४ मत ल्याएका थिए । करिब ८ हजार ३ सय मतान्तर रहेको आँकडालाई विश्लेषण गर्दै एमालेका वैरागी अहिले ५ हजारको मतान्तरले चुनाव जित्ने योजनामा छन् ।
यता माओवादीका नेता तथा गण्डकी प्रदेशका अर्थ मन्त्री बराल पनि कमजोर भने छैनन् । उनलाई गठबन्धनले साथ दिए चुनाव जित्ने पक्षमा उनी पनि छन् । यसअघि बराल एमालेकै भोटबाट प्रदेशसभा १ बाट निर्वाचित भएका थिए ।
पछि पार्टी फुटेपछि उनले प्रदेश मन्त्रीमण्डलमा अर्थमन्त्रीको भूमिकामा रहने अवसर पाएका थिए । कास्कीको क्षेत्र नम्बर-३ लाई महत्त्वपूर्णका साथ हेरिएको छ । नेकपा विभाजन , पश्चताप माओवादी ,नेकपा एस , राष्ट्रिय जनमोचा ,नेपाली काँग्रेस ,जसपा , लोसपा मिलेर गठबन्धन सरकार बनेको छ । यहाँ स्थानीय चुनावको आकलनमा हेर्ने हो भने नेपाली काङ्ग्रेसले पोखरा महानगरका ११ वडा मध्ये ७ वडामा आफ्नो जित हात पारेको थियो भने २ गाउँपालिका मध्ये अन्नपूर्णमा एमाले विजयी भएको थियो । ६ हजार ७२२ मत एमालेको पक्षमा देखिन्छ भने काँग्रेसको पक्षमा ५हजार ९५९ मत देखिन्छ ।
तस्तै अर्को गाउँपालिका माछापुच्छ्रेमा काङ्ग्रेसको ७ हजार९९ र एमालेको ६ हजार ६१७ मत देखिन्छ । पोखरा महानगरपालिकाका ११ वडामा स्थानीय निर्वाचनको आधारमा एमालेलाई १६ हजार ६६९ मत र काँग्रेसको २२ हजार ७२७ मत देखिन्छ ।
यसमा गठबन्धनको कुनै वडामा माओवादीका उम्मेदवारको मत थप हुँदा गठबन्धनलाई सजिलो देखिन आएता पनि विभिन्न स्वतन्त्र उम्मेद्वारहरु केही असर गर्ने आकलन गरिएको छ । प्रदेशमा भने कास्की ३ क मा गठबन्धनका साझा उम्मेदवार माओबादीका पुराना नेता दुर्गादत्त भण्डारीसंग एमालेका गणेशमान गुरुङ बिच प्रतिष्पर्धा हुने भएको छ भने कास्की ३ ख मा एमालेका राजिव पहारीसंग गठबन्धनका साझा उमेदवार कागेंसका युवा नेता प्रकाश बराल बिच प्रतिष्पर्धा हुने भएको छ । पहारी यस अघि प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए भने बराल जिल्ला खेलकुद विकास समितिबाट हाल राजीनामा दिएर उमेदवार बनेका हुन् ।