काठमाडौँ । निर्वाचन आयोगले स्वतन्त्र उठेर निर्विरोध निर्वाचित भएका राजिव गुरुङ (दीपक मनाङे) लाई स्पष्टीकरण सोधेको छ ।
रक्सी खुवाउन १५ लाख लाग्छ र २३ लाखले चुनाव खर्च के पुग्छ भनी अभिव्यक्ति दिएपछि आयोगले स्पष्टीकरण सोधेको हो । उनी गण्डकी प्रदेशका खेलकुद मन्त्रीसमेत हुन् ।
तपाईंले गर्ने निर्वाचन खर्च मनाङ जिल्ला प्रदेश सभा ‘ख’ को लागि आयोगले तोकेको खर्चको सीमा रु २३ लाख भित्र हुनुपर्छ, पर्दैन ? यदि तपाईंको अभिव्यक्ति सत्य हो भने तपाईंले मनोनयनपत्र दर्ता गर्दा रक्सी खुवाउँदा लागेको भनेको रु १५ लाखको सक्कल बिल भौचर, तपाईंले खर्च भुक्तानी गर्दा प्रयोग गरेको बैंक तथा खाता नं. र उक्त रकम प्राप्तिको स्रोत समेत खुलाई जवाफ पेश गर्न भनिएको छ ।
तोकेको खर्च सीमा रकम साच्चै त्यस क्षेत्रका लागि अपुग हो भने कुन–कुन शीर्षकमा तपाईंले रु २३ लाख रकम खर्च गर्नुभयो ? फेहरिस्त पेश गर्नुहोला । तपाईंको निर्वाचन क्षेत्रको लागि कुन–कुन शीर्षकमा खर्च सीमा बढाउनु पर्ने तथा कुन–कुन नयाँ शीर्षक थप गर्न आवश्यक हो ? थप गर्नु पर्ने शीर्षक सहित वस्तुगत आधार कारण समेत जवाफमा पेश गर्न आयोगले भनेको छ ।