काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सोमबार गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ६९ रनले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा गण्डकीले प्रस्तुत गरेको २०९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ३२.४ ओभरमा सबै विकेट गुमाउनुअघि १३९ रनमात्र बनाउँन सक्यो ।
सुदूरपश्चिमलाई सस्तैमा समेट्न विपिन कार्कीले चार विकेट लिए । अभिषेक बस्नेत र सुवास भन्डारीले समान दुई विकेट लिँदा अमृत गुरुङले एक विकेट लिए ।
सुदूरपश्चिमका मिलन बोहराले ५१ रन बनाए । गजेन्द्र बोहराले ३५ र वसन्त कार्कीले १० रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको गण्डकीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २०८ रनको योगफल तयार पारेको थियो ।
गण्डकीका ओपनर अर्जुन कुमालले ६३ रन बनाएका थिए । समिर कँडेलले २६ रन बनाउँदा विधान श्रेष्ठ र अभिषेक बस्नेतले समान २५ रन थपे । सन्दीप क्षेत्रीले १९, कप्तान विपिन खत्रीले १३ र कमल परियारले १२ रन जोडे ।
सुदूरपश्चिमका कैलाश ऐयर, नारायण जोशी, शेर मल्लले समान दुई विकेट लिँदा नरेन साउदले एक विकेट लिएका थिए ।कात्तिक १३ गतेदेखि सुरु भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागीयसहित १० टिमको सहभागिता छ ।