डोटी । नेकपा एकीकृत समाजवादीका नेता तथा निर्वतमानमन्त्री एवं डोटीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेले समग्र डोटी जिल्लाको विकास गर्नु नै आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।
आज सोमवार डोटीको सायल गाउँपालिकामा आयोजित मतदाता भेटघाटका क्रममा नेता आलेले नागरिकका लागि विकास अहिलेको आवश्यकता भएकाले आफ्नो मुख्य प्राथमिकता पनि समग्र डोटीको विकास रहेको बताए ।
‘डोटीको विकासका लागि म राजनितीमा होमिएको छु, मैले जति सक्छु डोटीको विकास गर्छु,’ उनले भने । भेटघाटकै क्रममा नेता आलेले राजनीतिसँगै डोटी सहित समग्र देशको विकासलाई अगाडि बढाउने जिकिर गरे । ‘जनतालाई अहिले चाहिएको विकास हो, म विकासका लागि प्रतिबद्ध छु’ उनले भने ‘वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउनुस्, विकास गर्ने मेरो जिम्मा ।’
सुशासनको जग बसाउन र गाउँमा रोजगारी र आम्दानी दिने काम बाँकी रहेकाले आफू त्यो अभियानमा लागेको उनको भनाइ थियो ।यसैगरी वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट डोटी प्रदेश २ का उम्मेदवार तथा काग्रेस नेता नरेन्द्रबहादुर सिंहले डोटीलाई विकास गर्ने नेता आवश्यक परेकाले यसपटक गठबन्धनका साझा उमेदवारलाई जिताउन आग्रह गरे ।‘गठबन्धनले नै देशको विकास गर्ने हो, आम डोटीवासी जनताले गठबन्धनलाई मत हाल्ने र जिताउने छन्,’ उनले भने ।