काठमाडौँ । चर्चित सांगीतिक समूह नेपथ्यले एक महिना लामो देशव्यापी यात्रा गर्ने भएको छ । सामाजिक संस्था मानवसेवा आश्रमसँग हातेमालो गरेर नेपथ्यले ‘मानवताका लागि संगीत’ अभियान गर्न लागेको हो ।
आगामी मंसिर १६ देखि पुस १६ गतेसम्म चल्ने अभियानका दौरान नेपालको पूर्वी कुनादेखि पश्चिमी कुनासम्म पुग्ने तयारी गरिएको आश्रमले जनाएको छ ।
सातवटै प्रदेशको भ्रमणपछि नेपथ्यले १६ पुसमा भृकुटीमण्डपमा प्रस्तुति दिनेछ । यसअघि पनि नेपथ्यले विभिन्न मुद्दालाई सांगीतिक कार्यक्रममार्फत प्रवद्र्धन गरेको थियो । नेपथ्यले सशस्त्र द्वन्द्वको समय विद्यालयमा हतियारधारीहरूको हस्तक्षेप हटाउन ‘शान्तिका लागि शिक्षा’ कार्यक्रम गरेको थियो । त्यस्तै, द्वन्द्वको चक्रबाट मुलुकलाई मुक्त गर्ने कामनाका साथ ‘सुन्दर शान्त नेपाल’ जस्ता अभियान चलाएको थियो ।