लुम्बिनी। गृहमन्त्री बालकृष्ण खाणले बर्तमान ब्यबस्थाप्रति केही असन्तुष्टि जाहेर गर्दै मुलधारको राजनीतिभन्दा बाहिर रहेका दललाई पनि राष्ट्रिय राजनीतिको मुलधारमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन्।
असन्तुष्टि जाहेर गर्ने अधिकार सवै नागरिक र दललाई भए पनि निर्वाचन विथोल्ने अधिकार कसैलाई नभएको उनको भनाइ छ ।
बुटवलमा आयोजित लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा उनले कुनै दल वा समूहका नाममा निर्वाचन खल्बलाउने र जनताले आफ्ना नेता चुन्ने अधिकार खोसिदिने अधिकार नभएको भन्दै मुलधारको राजनीतिमा आउन समेत आग्रह गरे।
उनले भने, ‘हामी मिल्नेसम्म लचक भएर असन्तुुष्ट दलसँग सम्वाद र छलफल गरिरहेका छौं। कतिपय मागहरु ऐन संशोधनबिना सम्वोधन गर्न सकिँदैन । सरकारले ऐन तर्जुमा गरेर भए पनि जायज माग सम्वोधन गरी असन्तुुष्ट समूहलाई मुलधारमा ल्याउने प्रयत्न भइरहेको छ।’
उनले कुनै दल वा समूहलाई निर्वाचन विथोल्ने र नागरिकको अधिकार खोस्ने अधिकार नरहेको बताए। सरकार भयरहित, शान्तिपूर्ण, स्वतन्त्र र भयरहित निर्वाचन गराउन प्रतिवद्ध भएको बताउँदै त्यसअनुसार जुट्न सुरक्षाकर्मीलाई उनले आग्रह गरे।
गृहमन्त्री खाणले भने, ‘सबै नागरिक सुरक्षित होउन्। ढुक्कसँग मतदान स्थलसम्म पुगेर आफूले रोजेको व्यक्तिलाई मतदान गरेर फर्कन सक्ने वातावरण बनाउनुपर्छ। ‘सुरक्षा व्यवस्थापनमा कुनै कसर बाँकी राखिँदैन।’