काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ।
बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले क्रिकेटर सन्दीपविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा राखेको हो।
यसअघि मङ्गलबार सन्दीपको बयान लिइएको थियो। बयानका क्रममा सन्दीपले आफूप्रति बदनियत र कसैको उक्साटहमा अभियोग लगाएको बयान दिएका थिए।साथै सन्दीपले आफूमाथि लागेको अभियोग झुटो रहेको प्रमाणसमेत पेस गरेका थिए।
आज सन्दीपविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखेर थुनछेक बहस भएको हो।
सन्दीपमाथि भदौ ५ मा काठमाडौंको एक होटेलमा लगेर एक १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोग छ। पीडित किशोरीले आफूमाथि जबरजस्ती करणी भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।
जाहेरीका आधारमा सन्दीपमाथि प्रहरीले २४ दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो। अनुसन्धानपछि प्रहरीले कात्तिक १४ गते सोमबार काठमाडौं अदालतमा सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरेको थियो।