काठमाडौं। रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी बाचापत्र (घोषणापत्र) सार्वजनिक गरेको छ।
आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि पार्टीले बिहीबार राजधानीमा आफ्नो बाचापत्र सार्वजनिक गरेको हो।
सो क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेले आफूले चुनावमा गरेका बाचा पूरा नगरे मतदाताले जस्तो कारबाही गरे पनि भोग्न तयार रहेको बताए।
सम्बन्धित समाचारः
राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी बाचापत्रः पूरा नगरे कारबाही भोग्न तयार
बाचापत्रमा अबको ३१ वर्षपछि अर्थात् विसं. २११० मा गरिबीको सङ्ख्या शून्यमा झार्ने अठोट गरिएको छ।
बाचापत्रमा भनिएको छ, ‘गरिबीको रेखामुनि रहेका नेपालीको सङ्ख्या शून्य हुनेछ। सबै नागरिकको सामाजिक र आर्थिक सुरक्षाको ग्यारेन्टी हुनेछ।’ त्यस्तै, गाउँ र सहरलाई आधुनिक सुविधासम्पन्न बनाइने छ।
बाचापत्रमा निर्दलीय व्यक्ति मात्रै राष्ट्रपति बन्न पाउनुपर्ने एजेन्डा राखिएको छ। औपचारिक रुपमा पार्टी परित्याग गरेको व्यक्ति नभई, १० वर्षसम्म कुनै पनि राजनीतिक दलमा नलागेको व्यक्ति मात्रै राष्ट्रपति हुनुपर्ने वाचा पत्रमा उल्लेख छ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय सभाका अध्यक्षलाई नै उपराष्ट्रपति बनाउनुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने, प्रदेशका मुख्यमन्त्री पनि प्रत्यक्ष निर्वाचित हुनुपर्ने र प्रदेशसभाको ठाउँमा प्रदेश परिषद् हुनुपर्ने धारणा राखेको छ।