काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज (बिहीबार) पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ।
आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीपविरुद्धको मुद्दाको बहस नसकिएपछि शुक्रबारको लागि ‘हेर्दाहेर्दै’मा राखेको हो। सन्दीपविरुद्धको मुद्दामा बुधबारबाट जारी थुनछेक बहस सुरु भएको हो।
सन्दीपमाथि भदौ ५ मा काठमाडौंको एक होटेलमा लगेर एक १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोग छ। पीडित किशोरीले आफूमाथि जबरजस्ती करणी भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।
जाहेरीका आधारमा सन्दीपमाथि प्रहरीले २४ दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो। अनुसन्धानपछि प्रहरीले कात्तिक १४ गते सोमबार काठमाडौं अदालतमा सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरेको थियो।