धनगढी। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले चुनाव जित्न डडेल्धुराको गन्यापधुरामा मेडिकल कलेज सञ्चालन गर्छु भनेको आरोप लगाएका छन्।
उनले शुक्रवार बिहान एमाले सचिव लेखराज भट्टको घरमा पार्टी प्रवेश कार्यक्रममा आफ्नो कुरा राख्दै कैलालीको गेटामा एमालेले बनाएको संरचनामा मेडिकल सञ्चालन नगरेर अन्तिम चुनाव जित्न प्रधानमन्त्रीसमेत रहेका देउवाले गन्यापधुरामा मेडिकल कले सञ्चालन गर्छु भनेको आरोप लगाएका हुन्। गन्यापधुरा देउवाको घर हो।
ओलीले गेटा मेडिकल कलेज आफूहरूको सरकाले बनाएको दाबी गर्दै भने, ‘देउवाले यो पटकको अन्तिम चुनाव जित्न हामीले बनाएको गेटा मेडिकल कलेज सञ्चालन गर्न छोडेर गन्यापधुरामा चलाउँछु भने। त्यहाँ कसरी मेडिकल कले चलाउँछन्? मेडिकल कलेज चलाउन कम्तीमा पनि तीन सय बेड क्षमताको अस्पताल चलाउन पर्छ। संरचना हुनुपर्छ। बिरामी हुनुपर्छ। तिनको उपचार गरेर विद्यार्थीले अनुसन्धान गर्ने होला। चुनाव जित्न जे पनि भनिदिने।’
अहिले सत्ता गठबन्धनमा रहेका दलहरूले चुनाव जित्न र सत्तामा जानको लागी जे पनि बोल्ने र जुनसुकै हदमा पनि जान कुनै कसुर बाँकी न छोडेको ओलीको भनाइ छ।