काठमाडौं। परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ।
मोटरसाइकलको ठक्करबाट घाइते सुब्बाका उपचारको क्रममा बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा मृत्यु भएको हो।
उनलाई बिहीबार साँझ हनुमानस्थानबाट अनामनगर चोकतर्फ जाँदै गरेको प्रदेश ३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले पैदल हिंडिरहेकी ३२ वर्षीया सुब्बालाई ठक्कर दिएको थियो।
सो क्रममा चालक घट्टेकुलो बस्ने तनहुँको दमौलीका २४ वर्षीय मिलन राना घाइते छन्। उनको उपचार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ।
२०६९ मा सेवा प्रवेश गरेकी सुब्बा मन्त्रालयको संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय संघ संगठन तथा अन्तर्राष्ट्रिय महाशाखामा कार्यरत थिइन्।
सुब्बाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ। झापा धुलाबारीकी सुब्बाका श्रीमान र एक छोरा छन्।