कास्की। पोखरामा रहेको मानवसेवा आश्रमको भवन निर्माण सहयोगार्थ आगामी पुस १२ गते पोखरा प्रदर्शनी केन्द्रमा बृहत ‘नेपथ्य लाईभ कन्सर्ट’ हुने भएको छ।
आश्रमको भवन निर्माण सम्पन्न गर्न नेपथ्य व्याण्डसँगको सहकार्यमा लाइभ कन्सर्ट आयोजना गरिएको हो। कुल रु १० करोड लागतमा निर्माण सम्पन्न गर्न लागिएको भवनका बाँकी काम पुरा गर्न आर्थिक अभाव भएपछि सांगीतिक कार्यक्रम गरी आर्थिक सङ्कलन अभियान अन्तरगत शुरु हुन लागेको महिनाव्यापी नेपथ्य लाइभ कन्सर्टको तयारी तिब्र पारिएको आश्रमको कास्की शाखाले जनाएको छ।
उक्त लाइभ कन्सर्ट विराटनगरमा मङ्सिर १६ गतेबाट शुरु भइ काठमाडौंमा पुस १६ गते समापन हुनेछ। मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशाला, २२ गते हेटौँडाको भुटनदेवी स्कुल चौर, २५ गते भरतपुरको क्याम्पाचौर, २९ गते नेपालगञ्जको रङ्गशालामा कन्सर्ट हुनेछ।
यस्तै पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ (रामनगर) मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्र र अन्तिम कार्यक्रमको रुपमा अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ को दिन पौष १६ गते काठमाडौंको भृकुटीमण्डपमा हुनेछ। कार्यक्रमको टिकल बुकिङ शुरु भएको र नजिकका आश्रम कार्यालयबाट टिकट लिन सकिने छ।