काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ कार्य सम्पन्न भएको छ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको आवश्यक सबै मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको हो।
आयोगले जनक शिक्षा सामग्रीलाई प्रत्यक्ष निर्वाचनतर्फका मतपत्र छपाउन दिएको थियो। आयोगले दिएको २० गतेसम्मको समयसीमा भन्दा दुई दिन अगावै जनक शिक्षा सामग्रीले मतपत्र छपाइ कार्य सम्पन्न गरेको हो।
शुक्रबार जनक शिक्षा सामग्रीमा मतपत्र छपाइसम्बन्धी अवलोकन गर्दै निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगको २० गतेसम्म मतपत्र छापिसक्नुपर्ने समयावधिभन्दा दुई दिन अगावै सबै मतपत्र छापिएको बताए।
उनले आठ करोड तीन लाख ९४ हजार पाँच सय मतपत्र छपाइ सकिएको र नमूना मतपत्र २२ लाख गरी कुल आठ करोड २५ लाख मतपत्र छपाइ भएको जानकारी दिए।
निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त भण्डारीले कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी प्रदेशमा ढुवानी सम्पन्न भइसकेको र प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा चाँडै मतपत्र ढुवानी हुने बताए।
समानुपातिक निर्वाचन प्रणालीतर्फको करिब चार करोड मतपत्र भने यसअघि नै छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ। आयोगको पछिल्लो तथ्याङ्कअनुसार निर्वाचनमा कुल एक करोड ७९ लाख ८५ हजार ७० जना मतदाता छन्।
यी मतदाताहरुले समानुपातिक तथा प्रत्यक्ष दुई प्रणालीका लागि चार वटा मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ। जस अनुसार आगामी निर्वाचनका लागि करिब आठ करोड मतपत्र आवश्यक पर्छ।