काठमाडौं। बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बहस सकिएको छ।
शुक्रबार काठमाडौं जिल्ला अदालतमा शुक्रबार सरकारी वकिल कृष्णा भण्डारीले जवाफी बहस गरेसँगै लामिछानेको मुद्दामा बहस सकिएको हो।
अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार उनको मुद्दामा केहीबेरमै आदेश आउँदैछ।
बिहीबार प्रतिवादी लामिछानेको तर्फबाट ८ जना वकिलहरूले बहस गरेका थिए। पीडित नाबालिगको पक्षबाट पनि सात जनाले बुधबार नै बहस गरिसकेका थिए।
बहसका क्रममा प्रतिवादीतर्फका वकिलले पीडित किशोरीको उमेर १८ वर्ष पुगिसकेको भन्दै प्रमाण पेश गरेको दावी गरेका छन्। प्रतिवादीका तर्फबाट किशोरीको जन्म मिति २०६१ जेठ १८ गते रहेको विद्यालयको कागजात पेश गरिएको बताएका छन्।
गत भदौ ५ गते रातिदेखि भदौ ६ गतेको बिहानसम्म एक १७ वर्षीय किशोरीलाई सिनामंगलको होटल काठमाडौं इनमा बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो।
सन्दीपलाई १० देखि १२ वर्षसम्मको कैद सजायको मागदाबीसहित सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो।
अदालतले मुद्दाको पुर्पक्षका लागि सन्दीपलाई थुनामा पठाउने कि धरौटी वा साधारण तारेखमा राख्ने भन्ने आदेश जारी गर्नेछ।