मुस्ताङ। राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ विश्वभरिका हिन्दू र बौद्धमार्गीको आस्थाको धरोहरका रुपमा रहेको बताएकी छन्।
आज मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान् गौतम बुद्धको प्रतिमा अनावरण एवं भगवान् विष्णुको प्रतिमा शिलान्यासपछि राष्ट्रपति भण्डारीले मुक्तिनाथ क्षेत्र नेपालकै विशिष्ट धार्मिक एवं सांस्कृतिक सम्पदा रहेको उल्लेख गरिन्।
उनले बुद्धको प्रतिमा अनावरण र भगवान् विष्णुको प्रतिमा शिलान्यास गर्न पाउनुलाई आफूले ऐतिहासिक अवसरका रुपमा लिएको पनि उनले बनाइन्। उनले भनिन्, ‘मूर्ति अनावरण तथा शिलान्यासमा सहभागी हुन पाएकामा खुसी व्यक्त गर्दछु। यसबाट हिन्दू र बौद्ध समुदायको साझा आस्थाको केन्द्रका रुपमा रहेको मुक्तिनाथ क्षेत्रको धार्मिक एवं पर्यटकीय महत्व अझ बढ्न जाने मैले विश्वास लिएकी छु।’
बहुसाँस्कृतिक आयाम बोकेर सदियौँको इतिहास समेटेको मुक्तिनाथ क्षेत्र र मुक्तिनाथ मन्दिरको महत्वलाई पौराणिक ग्रन्थले ठूलो सम्मानका साथ उल्लेख गरेको उनको भनाइ छ।
राष्ट्रपति भण्डारीले शुक्रबार बिहान मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजासमेत गरेकी थिइन्।
राष्ट्रपति भण्डारीले मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि उद्घाटन गरिन्।