काठमाडौं। नाबालिग बलात्कार अभियोगमा राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ।
वादी र प्रतिवादीका तर्फबाट भएको व्यवसायीको थुनछेक बहसपछि शुक्रबार न्यायाधीश माधवप्रसाद घिमिरेले आरोपित लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएका हुन्।
अदालतका सूचना अधिकारी दीपक दाहालले लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको जानकारी दिए। लामिछानेलाई थुनामा राख्न केन्द्रीय कारागार पठाइएको छ।
बलात्कार आरोप लागेका क्रिकेटर लामिछानेको मुद्दामाशुक्रबार दिउँसो बहस सकिएको थियो। बिहीबार प्रतिवादी लामिछानेको तर्फबाट ८ जना वकिलहरूले बहस गरेका थिए। पीडित नाबालिगको पक्षबाट पनि सात जनाले बुधबार नै बहस गरिसकेका थिए।
बहसका क्रममा प्रतिवादीतर्फका वकिलले पीडित किशोरीको उमेर १८ वर्ष पुगिसकेको भन्दै प्रमाण पेश गरेको दावी गरेका थिए भने प्रतिवादीका तर्फबाट किशोरीको जन्म मिति २०६१ जेठ १८ गते रहेको विद्यालयको कागजात पेश गरिएको बताएका थिए।
गत भदौ ५ गते रातिदेखि भदौ ६ गतेको बिहानसम्म एक १७ वर्षीय किशोरीलाई सिनामंगलको होटल काठमाडौं इनमा बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो।
सन्दीपलाई १० देखि १२ वर्षसम्मको कैद सजायको मागदाबीसहित सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो।