तनहुँ । चिसो मौसम शुरू हुँदा पनि तनहुँमा डेंगुको संक्रमण बढ्दो क्रममा छ ।डेंगु संक्रमितको संख्या बढेपछि सदरमुकामस्थित अस्पतालहरूमा संक्रमितको भीड लागेको छ ।कात्तिकमा मात्रै ८८ जनामा संक्रमण देखिएको दमौली अस्पतालका प्रमुख डा। दिवस ढकालले जानकारी दिए ।
उनका अनुसार २१५ जनाको नमूना परीक्षणमा सबैमा डेंगु संक्रमण देखिएको छ ।जिल्लामा भदौको अन्तिम हप्तादेखि डेंगुको संक्रमण फैलिएको थियो भने असोजमा मात्रै १०१ जनामा संक्रमण पुष्टि भएको डा। ढकालले बताए । डेंगुको संक्रमण हुँदा उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी दुख्ने, आँखाको गेडी र टाउको दुख्ने जस्ता लक्षण देखिने उनको भनाइ छ ।
डेंगुको संक्रमण बढ्दै गएपछि नियन्त्रणको प्रयास भइरहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । डेंगुबाट बच्न जिल्लाका १० वटै स्थानीय तहले लामखुट्टेको बासस्थान मास्ने, सरसफाई लगायतको सचेतनात्मक कार्यक्रम समेत सञ्चालन भइरहेको अधिकारीले बताए ।
डेंगु लामखुट्टेको टोकाइबाट सर्ने भएकाले आफ्नो घर वरिपरि पानी जम्न नदिने, सफा राख्न स्वास्थ्य कार्यालयले सबैसँग आग्रह गरेको छ । डेंगुसँग मिल्दाजुल्दा लक्षण देखिने बित्तिकै चेकजाँच गराउन कार्यालयले अनुरोध गरेको छ ।