जलेश्वर। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न पार्टीसँग गठबन्धन गर्नु आफ्नो पार्टीको बाध्यता रहेको स्पष्ट पारेका छन्।
महोत्तरी सदरमुकाम जलेश्वरमा आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन घोषणापत्रको सार्वजनिक गर्दै उनले मधेसी जनतालाई थप अधिकार सम्पन्न बनाउनका लागि विभिन्न ठूला दलसँग निर्वाचनमा सहकार्य गरेको बताए।
अध्यक्ष ठाकुरले मधेस आन्दोलनका क्रममा उठेमा आवाजलाई पूरा गर्न र मधेसलाई न्याय दिलाउनका लागि लोसपाले गठबन्धन गर्नुपरेको बताए। उनले भने, ‘जेलमा रहेका साथीहरूलाई निकाल्नुपर्ने छ, झुठा राजनीतिक मुद्दा खारेज गराउनुपर्नेछ, नागरिकता र संविधान संशोधनको मुद्दा सम्बोधन गराउनुपर्नेछ । साथै मधेस र मधेसीलाई अधिकार सम्पन्न बनाउनुपर्नेछ। त्यसैले गठबन्धन लोसपाको बाध्यता हो।’
सञ्चारकर्मीको एक प्रश्नको जवाफमा अध्यक्ष ठाकुरले मधेस र मधेसी जनतालाई थप हक अधिकार दिलाउन लोसपा सक्षम रहेको बताए।