विराटनगर। प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्री तथा मोरङ क्षेत्र ३ अन्तर्गत प्रदेशसभा क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको छ।
गम्भीर प्रकारको निमोनिया देखिएका थापाको उपचारका क्रममा निधन भएको हो। उपचारकै क्रममा आज बिहान साढे १० बजेतिर थापाको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
उनको सुरूमा नोबेल मेडिकल कलेज र त्यसपछि काठमाडौंको ह्याम्स अस्पतालमा ल्याएर उपचार गरिएको थियो।
मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ का स्थायी बासिन्दा थापा एक महिनादेखि बिरामी थिए।
उनलाई सुरूमा डेंगी संक्रमण भएको थियो। पछि उनलाई निमोनियासमेत भएको थियो।
थापा २०७४ सालमा समानुपातिकतर्फ प्रदेश सभा सदस्य भएका थिए। थापाका श्रीमती, एक छोरी र एक छोरा छन्।
थापाले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा केही वर्ष स्वकीय सचिवसमेत भएर काम गरेका थिए।
उम्मेदवारकै निधन भएपछि यो क्षेत्रको चुनाव के गर्ने भन्नेबारे आयोगले निर्णय गरिसकेको छैन।