काठमाडौं। मोरङ ३ (क) को प्रदेश सभाको सदस्यका लागि उम्मेदवार नेपाली कांग्रेसका प्रदेशसभा उम्मेदवार शेखरचन्द्र थापाको निधन भएसँगै उक्त क्षेत्रमा नयाँ निर्वाचनको कार्यक्रम तय हुने भएको छ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले उक्त क्षेत्रमा नयाँ निर्वाचन कार्यक्रमको निर्णय गरेर जिल्ला निर्वाचन अधिकृतलाई पठाउने जानकारी दिए।सोही बमोजिम नयाँ मनोनयन, दर्ता, दाबी विरोध गर्नेलगायतका प्रक्रिया हुन्छन्।
उनले भने, ‘नयाँ निर्वाचन कार्यक्रम तय हुन्छ। जुन पार्टीको उम्मेदवारको मृत्यु भएको हो सो पार्टीलाई उम्मेदवारी दिने, दाबी विरोध, उजुरी, अन्तिम नामावली प्रकाशन गर्ने प्रक्रिया हुन्छन्।’ प्रवक्ता पौडेलले मोरङ ३ (क) मा निर्वाचन मङ्सिर ४ गते नै हुने बताए।
उम्मेदवारी दर्तापछि कुनै उम्मेदवारको निधन भएमा ऐनअनुसार निर्वाचनको नयाँ कार्यक्रम तय गरेर निर्धारित मितिमै चुनाव हुने व्यवस्था छ।
प्रदेश १ का वनमन्त्री तथा नेपाली कांग्रेस प्रदेशसभा उम्मेदवार शेखरचन्द्र थापाको बुधबार बिहान निधन भएको थियो। केही दिनअघि डेंगु सङ्क्रमित भएका मन्त्री थापाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा आज बिहान १०ः४० बजे निधन भएको थियो।