काठमाडौं। गएराति डोटी केन्द्रविन्दु भएर गएको भूकम्पपछि सुदूरपश्चिममा दुई सय पराकम्प गइसकेको छ।
भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले आज दिउँसो १ बजेसम्म दुई सय पराकम्प गइसकेको जानकारी दिए। गएराति त्यसअघि राति ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ र राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ र आज बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो।
उनले भने, ‘लगातार तीनपटक एकै स्थानमा केन्द्रविन्दु बनाएर तीन ठूला भूकम्प गएका छन्। तीबाहेक चार रेक्टर स्केलभन्दा मुनिका दुई सय पराकम्प गइसकेका छन्।’ भूकम्पछि पराकम्पनहरु आइरहेकाले सतर्क रहन भूकम्प मापन केन्द्रले सबैमा आग्रह गरेको छ।
भूकम्पका कारण डोटीको पूर्वीचौकीमा घर भत्किँदा ६ जनाको मृत्यु भएको छ। उक्त भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको थियो। भूकम्पका कारण बैतडीमा पनि केही घरहरुमा क्षति पुगेको छ।
भूकम्पका कारण पाटन नगरपालिकाको कृषि शाखा भवन चर्किएको छ। यस्तै, भूकम्पका कारण दशरथचन्द नगरपालिका–१ का विभिन्न स्थानमा घरहरुमा चिरा परेका छ। साथै पाटन नगरपालिकामा रहेको ज्ञानेश्वर माविको भवन पनि चर्किएको विद्यालयले जनाएको छ।