काठमाडौं। शेयर बजार आज उच्च अङ्कले घटेको छ।
शेयरबजार परिसूचक नेप्से आज ३९ दशमलव १५ अङ्कले घटेर एक हजार नौ सय १७ दशमलव २२ विन्दुमा झरेको छ।
सबै समूहको शेयर घटेको दिन आज विकास बैंक, जलविद्युत्, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ।
बजार घटे पनि कारोबार रकममा भने सुधार आएको छ। आज दुई सय २३ वटा कम्पनीको ३६ लाख ९७ हजार कित्ता शेयर एक अर्ब ४० करोड ७३ लाख रुपैयाँमा कारोबार भएको छ।
सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्तको ६ करोड ७८ लाख र शिवम् सिमेन्टको ६ करोड रुपैयाँको शेयर किनबेच भयो।
आज एक्सेल विकास बैंकको शेयर आठ प्रतिशत तथा गुराँस लघुवित्त, उपकार लघुवित्त, प्रोगेसिभ फाइनान्स र सप्कोसी विकास बैंकको शेयर सात प्रतिशतले घटेको छ।
समग्रमा बजार राताम्मे हुँदा पनि अपर हेवाखोला जलविद्युत् कम्पनीको शेयर साढे सात प्रतिशतले बढेको छ।