काठमाडौं। ठमेलमा तेस्रो अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ।
शिवारङको आयोजनामा काठमाडौंको ठमेलस्थित मिथिला येँ आर्ट ग्यालरीमा ‘रङ उत्सव थ्री’ तथा तेस्रो अन्तर्राष्ट्रिय कला प्रदर्शनीसुरु भएको हो। प्रदर्शनीमा नेपालका पाँच र भारतका ३० कलाकारले कोरेका चित्रहरू राखिएका छन्।
उक्त कला प्रदर्शनीको उद्घाटन गर्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धरले कलाले नेपाल र भारतको सम्बन्धलाई थप प्रगाढ बनाएको बताए।
वरिष्ठ कलाकार महेश आचार्यले सबै कलाको आआफ्नो विशेषता रहेको उल्लेख गर्दै यस्ता कला प्रदर्शनीले नेपाली कलाकारलाई अन्तर्राष्ट्रिय कलाकारसँग जोड्न सहयोग पुगेको बताए।
मिथिया येँ ग्यालरीका सञ्चालक एवं वरिष्ठ कलाकार श्यामसुन्दर यादवले मिथिला येँ ग्यालरीमा विभिन्न समयमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी हुँदै आएको र कलाले नेपालसँग विश्वको कलाकारलाई जोड्दै आएको बताए।
विगत १७ वर्षदेखि सञ्चालमा रहेको मिथिला येँ आर्ट ग्यालरीमा हालसम्म तीन सयभन्दा बढी स्वदेशी तथा विदेशी कला प्रदर्शनी भइसकेको छ।
बुधबारदेखि सुरु भएको प्रदर्शनी कात्तिक २५ गतेसम्म चल्नेछ।