काठमाडौं। धरानका मेयर हर्क साम्पाङले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हाउडेको संज्ञा दिएका छन्।
उनले शुक्रबार सामाजिक सञ्जालमार्फत एमाले अध्यक्ष ओलीलाई हाउडेको संज्ञा दिएका हुन्।
शुक्रबार धरानमा आयोजित चुनावी सभामा बोल्दै ओलीले कोशीको पानी धरान ल्याइने बताएका थिए।
धरानका मेयरप्रति व्यङ्ग्य गर्दै ओलीले भनेका थिए, ‘यहाँका मेयरलाई खानेपानी ले, खानेपानी ले भनेर कतिवटा घैला बोकुन विचरा?। कसको घरमा खानेपानी पुर्याउने? कोशीबाट पम्पिङ गरेर पानी ल्याएर एमालेले धरानवासीलाई खुवाउँछ, तपाईंहरू ढुक्क हुनुस्। नगरको बजेटले त्यो आयोजना हुन्छ त? हुँदैन। तर म केही भन्दिनँ, छान्ने बेला आँखा देख्नुभएन।’
उनले धरानमा खानेपानी ल्याउन राष्ट्रिय बजेट र नेकपा एमालेको सरकार चाहिने बताएका थिए।
ओलीको उक्त भनाइप्रति चुनौती दिँदै मेयर साम्पाङले धेरै चुनौती नदिन भनेका छन्।
मेयर साम्पाङले फेसबुकमा लेखेका छन्, ‘ग्यासको पाइप घर घरमा पुराएर पानी जहाजमा नेपालीलाई शयर गराउनेले कोशीको पानी ल्याउने गफ दिएछ ! म ल्याउँछु पानी कोशीको ! धेरै चुनौती नदिंदा हुन्छ हाउडेले !’