काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।
अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २ विकेटले हराउँदै आर्मी प्रतियोगिताको फाइनल प्रवेश गरेको हो।
पुलिसले दिएको ३०५ रनको लक्ष्य आर्मीले १ बल बाँकी छँदै ८ विकेट गुमाएर पुरा गर्यो। आर्मीको जीतमा रोहित पौडेलले ८९, हरि चौहानले ७५, राजेश पुलामी मगरले नटआउट ४३, कप्तान विनोद भण्डारीले ३२, विक्रम सोवले ३०, अर्जुन साउदले ११ र भीम सार्कीले १० रन बनाए।
पुलिसका करण केसीले ६ विकेट लिए पनि टिमलाई जिताउन सकेनन्। त्यस्तै, राशिद खान र ललित राजवंशीले १–१ विकेट लिए।
यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिस क्लबले ५० ओभरमा ४ विकेट गुमाएर ३०४ रन बनाएको थियो।
पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले शतक बनाए। उनले १२५ बलमा १४० रन बनाए। प्रतियोगितामा दीपेन्द्रको यो दोस्रो शतक हो। यसअघि उनले बागमती प्रदेशविरुद्ध पनि शतक बनाएका थिए।
त्यस्तै, पुलिसका आशिफ शेखले नटआउट १०९ बलमा ९१, कुशल भुर्तेलले ३१, सुनिल धमालाले १३, अमित श्रेष्ठले १० र करण केसीले नटआउट ८ रन बनाए।
आर्मीका विक्रम सोबले ३ र सुशान भारीले १ विकेट लिए।
अब आर्मीले उपाधिका लागि एपीएफसँग खेल्नेछ। फाइनल शनिबार हुनेछ।